News एभरेष्ट भेट्रान र भोजपुर भेट्रान सेमिफाइनलमा
गोलनेपाल

चौबिसे । एभरेष्ट भेट्रान, मोरङ र भोजपुर भेट्रान, भोजपुर यहाँ जारी स्व. ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति तेस्रो हाम्रो राजारानी भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलतर्m एभरेष्ट भेट्रानले दुधे भेट्रान, झापालाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ एभरेष्ट भेट्रानका लागि बिमल लिम्बुले गोल गरेका थिए भने दुधेका लागि अन्जन तुम्बापोले गोल गरेका थिए । खेलमा एभरेष्टका गोलरक्षक राजेन्द्र धिमाल म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेल तथा चौथो क्वाटरफाइनलतर्फ भोजपुर भेट्रानले फिदिम भेट्रान, पाँचथरलाई ४–२ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । भोजपुर भेट्रानको जितमा बिरेन्द्र श्रेष्ठले प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्दा थप एक गोल अशोक राईले गरे । उता फिदिम भेट्रानका लागि भने दुवै गोल बिक्रम जबेगुले गरे । खेलको म्यान अफ दि म्याच भोजपुर भेट्रानका ह्याट्रिककर्ता बिरेन्द्र श्रेष्ठ चुनिए ।

प्रतियोगिता अन्तर्गत मंसिर १७ गते बुधबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा एभरेष्ट भेट्रान, मोरङ र हाम्रो राजारानी भेट्रान, धनकुटा भिड्नेछ भने दोस्रो सेमिफाइनलमा मर्निङ भेट्रान, मोरङ र भोजपुर भेट्रान, भोजपुर भिड्ने आयोजकले जानकारी दियो ।

हाम्रो राजारानी भेट्रान, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ । फाइनल खेल यही मंसिर १८ गतेका दिन हुनेछ ।

 

Post Comments