रतुवामाई । साविक विजेता वार्ड नम्बर ६ र वार्ड नम्बर ५ यहाँ जारी चौथो रतुवामाई मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ९ लाई २–१ ले हराउँदै फाइनल प्रवेश गर्यो । खेलमा वार्ड नम्बर ६ का चेतन नेपाली म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर १० लाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुग्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सौरभ ढकाल म्यान अफ दि म्याच बने ।
अब मंसिर १७ गते बुधबार हुने फाइनलमा वार्ड नम्बर ६ र वार्ड नम्बर ५ उपाधिका लागि भिड्ने छन् ।
नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ किलो चाँदी र १ तोला सुनले बनेको आकर्षक ट्रफीसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।