चपरहट्टी । रुपन्देहीमा सम्पन्न तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सिद्धार्थ क्लब, चपरहट्टीले नै जितेको छ । शुक्रबार भएको फाइनलमा सिद्धार्थले जनज्योति क्लब, डिंगरनगरलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
तिलोत्तमा नगरपालिका–१, चपरहट्टी स्थित आयोजक क्लब कै प्रस्तावित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा दोस्रो हाफको २७औं मिनटमा आशिष रानाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको सिद्धार्थले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता जनज्योतिले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सिद्धार्थका आशिष राना फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सिद्धार्थ कै बिक्रम राना मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार जनज्योतिका मिलन आले मगरले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सिद्धार्थ कै अनुप थापा मगर घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष फर्सुराम गिरी, आयोजक सिद्धार्थ क्लबका अध्यक्ष पोष्ट बहादुर थापा, खेल संयोजक युवराज थापा लगायतले पुरस्कृत गरेका थिए ।