बसन्त गौचन फुटबल एकेडेमीले फुटबल क्याम्प गर्ने बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।
ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको वसन्त गौचन फुटबल एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लागेका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिने छन् ।
उनीहरुको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षकहरु पनि रहने एकेडेमीले जनाएको छ । ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन् । उनी जे लिगको क्लब सोनम बेलमेरको ३ वर्ष यू–१३ का प्रशिक्षक थिए । ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् । उनी जापानको टोकियोमा अवस्थिति फनरुट्स फुटबल एकेडेमीमा पनि आवद्ध छन् ।
बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई ३ दिने प्रशिक्षण दिने एकेडेमीले जनाएको छ । एक समय नेपाली फुटबलका ढुकढुकी रहेका वसन्त गौचनले ३ वर्ष अघि आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिदैं आएको छ । पछिल्लो साँढे दुई दशक देखि गौचन जापानलाई कर्मथलो बनाउदै विभिन्न फुटबल प्रशिक्षणमा आवद्ध छन् ।
गौचनको पहलमा पछिल्लो दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउदै आएका छन् ।