News तिलोत्तमा मेयर कप शुरु, वार्ड नम्बर ६ को विजयी शुरुवात
सुरज राना मगर

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम तिलोत्तमा मेयर कप वार्ड स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–६ स्थित झरना स्र्पोटस क्लबको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर १६ लाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।

प्रतियोगिता अन्तरगत माघ २३ गते शुक्रबारका दिन दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा वार्ड नम्बर १७ र ५ भिड्ने छन् भने दोस्रो खेलमा वार्ड नम्बर ११ र ४ भिड्ने छन् ।

तिलोत्तमा नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजना तथा झरना स्पोर्टस क्लब, कुञ्जलापुरको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । तिलोत्तमा नगर भित्रका कुल १७ वार्डहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल यहि माघ ३० गतेका दिन हुनेछ ।

नगर प्रमुखद्वारा प्रतियोगिताको उद्घाटन

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए । सो अवसरमा नगर प्रमुख घिमिरेले खेलकुदको विकासमा नगरपालिका पनि मुख्य स्रोत रहेको बताउँदै उनले नगर भित्रका खेलकुद गतिविधीहरुलाई नगरपालिकाले सकेको सहयोग गर्ने बताए ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिृकत प्रदिप पौडेल, लुम्बिनी प्रदेश फुटबल संघ र रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुन लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

 

Post Comments