दिल्ली पब्लिक स्कुल (DPS), बिराटनगरको आयोजनामा जारी तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर–विद्यालय फुटबल रनिङ कप २०८२ अन्तर्गत तेस्रो दिन दुई क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्।
दिनको पहिलो क्वार्टरफाइनल खेलमा दिल्ली पब्लिक स्कुल, बिराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै गोदावरी इङ्लिस स्कुललाई ५–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। दिल्ली पब्लिक स्कुलका अमन खवासले ह्याट्रिकसहित प्रभावशाली प्रदर्शन गरेपछि उनी खेलको म्यान अफ द म्याच घोषित भए।
दोस्रो क्वार्टरफाइनल खेलमा माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुलले भारतको सनसाइन सेकेन्डरी स्कुललाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ। माउन्ट जियोनका रितेश दर्जीले सशक्त खेल प्रदर्शन गर्दै म्यान अफ द म्याचको पुरस्कार जिते।
प्रतियोगिताअन्तर्गत दुवै सेमिफाइनल खेलहरू भोलि (पुस ५ गते) आयोजना हुने आयोजकले जनाएको छ। सेमिफाइनलमा दिल्ली पब्लिक स्कुल, बिराटनगरले निधि सेकेन्डरी स्कुलको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल र MKVM स्कुल आमनेसामने हुनेछन्।