News वार्ड नम्बर २ लाई देवदह वार्ड कपको उपाधि
सुरज राना मगर

खैरेनी । वार्डस्तीय फुटबल खेलकुद कार्यक्रम उपभोक्ता समिति, देवदह–२, रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम देवदह वार्ड कप पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली वार्ड नम्बर २ ले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ९ माथि २–१ को रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्न सफल बनेको हो । देवदह–३ स्थित पुष्पानन्द गिरी स्मृति खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ९ ले अमित क्षेत्रीको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर वार्ड नम्बर २ का लागि लागि दिवस राना र आयुष गुरुङले गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

विजेता बनेको वार्ड नम्बर २ ले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ९ ले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै वार्ड नम्बर २ का आयुष गुरुङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर २ का निशान खाम्चा बन्दा उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ९ का अनिल क्षेत्री चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ता वार्ड नम्बर २ का दिवस राना बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि वार्ड नम्बर २ कै कप्तान बिष्णु बहादुर सारु घोषित भए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव खरेल, देवदह नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष दल बहादुर राकसकोटी, आयोजक समितिका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments