
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितातर्फ दोस्रो लेगका खेलहरु शनिबारदेखि शुरु भएको छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न एक मात्र खेलमा बलियो त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि ९–० को फराकिलो जित निकाल्यो ।
आर्मीको जितमा रश्मी घिसिङले चार गोलसहित ह्याट्रिक पूरा गरिन् । त्यस्तै शर्मिला थापाले दुई गोल गरिन् भने भुजंग राई र अन्जली वाईबाको नाममा एक–एक गोल रह्यो । त्यस्तै थप एक गोल भने चौदण्डीगढीकी आइमित लेप्चाले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।
प्लेयर अफ द म्याच आर्मीकी रश्मी घिसिङ घोषित भईन् । यो जितसँगै आर्मीले लिगलिडर एपिएफसँगको दुरी २ अंकमा छोट्याएको छ । आर्मीको ७ खेलबाट १६ अंक छ । यद्यपि एपिएफले एक खेल कम खेलेको छ । उता अंकविहीन चौदण्डीगढी भने पुछारमा छ ।
आइतबार दुई खेलहरु हुँदै
लिग अन्तरगत माघ २५ गते आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र चन्द्रपुर नगरपालिका, रौतहट भिड्ने छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका, स्याङ्जा र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेलहरु एन्फा कम्प्लेक्स मै हुनेछन् ।