
सैनामैना । शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा शुरु तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितामा कपिलवस्तु जिल्ला फुटबल संघले शानदार शुरुवात गरेको छ ।
उद्घाटन खेलमा कपिलवस्तुले आयोजक जनप्रिय स्र्पोटिङ क्लब माथि ८–० को फराकिलो जित दर्ता गर्यो । सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा कपिलवस्तुका लागि सन्जु सेनले ह्याट्रिकसहित चार गोल गरे ।
त्यस्तै गोबिन पालुङ्गेले दुई गोल गरे भने सन्दिप चौधरी र अर्जुन बिकले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच कपिलवस्तु कै सन्दिप चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।
यो जितसँगै कपिलवस्तु क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ २५ गते आइतबरको खेल बुद्धभुमि फुटबल एकेडेमी र फोर ब्रदर्श एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए ।
सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको संयोजन र व्यवस्थापनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने पनि अध्यक्ष रानाले बताए ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान माउण्टेन बाईक साइकल हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ५ गतेका दिन हुनेछ ।