रुद्रपुर । मुर्गिया फुटबल क्लब, मुर्गिया र समपुर्ण युवा क्लब, सुपौली रुपन्देहीमा जारी चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको दुई क्वाटरफाइनलतर्फ आ–आफ्नो खेलमा जित हात पार्दै मुर्गिया र समपुर्णले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन् ।
दिनको पहिलो खेलमा मुर्गियाले गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चनलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । मुर्गियाको जितमा प्रबिन भारीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने निशान्त न्यौपाने चुनिए ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा समपुर्णले देवदह ब्वाइृजलाई ३–१ ले हरायो । खेलमा समपुर्णका लागि सुगम ठकुरीले दुई गोल गर्दा थप एक गोल दिनेश गुरुङले गरे । उता पराजित देवदहका लागि हिमाल थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा समपुर्णका दिनेश गुरुङ म्यान अफ दि म्याच बने ।
रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।