फर्साटिकर । फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा सम्पन्न १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्टस क्लब, कुञ्जलापुरले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा झरनाले कपिलवस्तु–११ फुटबल क्लब, कपिलवस्तुलाई २–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । झरनाको जितमा संजय थारु र सुरज थारुले गोल गरे ।
विजेता बनेको झरनाले उपाधिसहित ३,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता कपिलवस्तुले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ पनि झरना कै वर्चश्व रह्यो । झरनाका संजय थारु फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यस्तै झरनाका लक्ष्मण थापा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार पनि क्रमशः झरना कै अनुप राना र सुरज थारुले हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी शुद्धोदन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, गाउँपालिकाकै प्रवक्ता तथा शुद्धोदन गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष केश प्रसाद अधिकारी, आयोजक क्लबका अध्यक्ष अमृत खडका, आयोजक फर्साटिकर युवा क्लबका संरक्षक चक्र बहादुर कुँवर, निवर्तमान अध्यक्ष मुकेश कुँवर लगायतले पुरस्कृत गरेका थिए ।