News प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकप फ्लडलाइटमा हुने
उमेश पुन

पोखरा । मोफसलको र परिचित र प्रतिष्ठित मध्ये एक सहारा क्लब, पोखराको आयोजनामा वार्षिक रुपमा हुँदै आएको आहा! रारा पोखरा गोल्डकपको २५औं संस्करण पहिलोपटक फ्लडलाईट (कृत्रिम प्रकाश) मा हुने भएको छ ।

पोखरा रंगशाला निर्माण सम्पन्न भएको करिब एक दशकपछि पहिलो पटक ‘२५औं आहा! रारा पोखरा गोल्डकप’ फ्लडलाइटको उज्यालोमा सञ्चालन हुने भएको हो । प्रतियोगिता रजत वर्षमा प्रवेश गरेको अवसर पारी आयोजकले यसपटक आहा! रारा पोखरा गोल्डकपलाई अझै भव्य रुपमा आयोजना गर्न यो निर्णय लिएको हो ।

पोखरामा साँझपख फुटबल हेर्ने संस्कृतिको सुरुवात गर्ने लक्ष्यसहित सहारा क्लबले अस्थायी रूपमा फ्लडलाइट जडान गर्ने भएको छ । फ्लडलाइटमा प्रतियोगिता आयोजना गर्ने निर्णयसँगै प्रतियोगिताको स्तर र समग्र पोखरेली फुटबलको वातावरणलाई थप उचाईं दिने विश्वास क्लबले लिएको छ ।

फ्लडलाइट जडानसँगै खेलको समय साँझतिर सारिनेछ । यसले खेलाडीका लागि पनि अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार साँझको समयमा खेल सञ्चालन हुँदा खेलको गति, ऊर्जा र प्रतिस्पर्धात्मकता थप आकर्षक हुने आयोजकको ठहर छ ।

आयोजक सहारा क्लबले फ्लडलाइट जडान, सुरक्षा, प्राविधिक व्यवस्थापन र रंगशालाको समग्र व्यवस्थामा यस पटक खर्च बढ्ने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताएका छन् । अस्थायी भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रकाश व्यवस्थापन गरिने र खेलको प्रत्यक्ष प्रसारणमा समेत कुनै असर नपर्ने गरी तयारी भइरहेको क्लबले जनाएको छ ।

स्मरण रहोस, यस वर्ष आयोजना हुने ‘२५औं आहा! रारा पोखरा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो माघ २७ गतेदेखि शुरु हुने तय भईसकेको छ ।

Post Comments