News एपिएफको सातौं जितमा १४ गोल
गोलनेपाल

काठमाडौं । लिगलिडर तथा उपाधिको दावेदार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले जारी राष्ट्रिय महिला लिगमा सोमबार पनि फराकिलो जित हात पारेको छ । लिगको सातौं जित हात पार्ने क्रममा अपराजित एपिएपले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई १४–० ले हरायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफका लागि स्टार फरवार्ड साबित्रा भण्डारीले दुई ह्याट्रिकसहित ८ गोल गरिन् । त्यस्तै अनिता केसी र अनिता बस्नेतले २–२ गोल गरे भने अनु लामा र रबिना गोलेले एक–एक गोलको योगदान दिए । प्लेयर अफ द म्याच एपिएफकी प्रिती राई घोषित भईन् ।

यो जितसँगै ७ खेलबाट २१ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानमा रहेको आर्मीसँगको दुरी फेरि पाँच अंकमा पुर्याएको छ । उता जितविहीन चौदण्डीगढी भने पुछारमा छ ।

लिग अन्तरगत माघ २७ गते मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका, स्याङ्जा भिड्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र अर्को विभागीय टोली नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।

Post Comments