News पोखरामा ऐतिहासिक २६औँ आदर्श कप सुरु
गोलनेपाल

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर -२९ भण्डारढिक स्थित आदर्श रङ्गशालामा आदर्श युथ क्लबको आयोजनामा शुक्रबार प्रतियोगिताको मुख्य प्रायोजक फस्ट च्वाईस फुड्स लिमिटेड शुद्धोधन ४ रूपन्देहीका प्रोप्राईटर कृष्णप्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा २६ औँ संस्करणको आदर्श कप भव्यताका साथ समुद्घाटन भएको छ। उक्त प्रतियोगिताको पहिलो खेल गत संस्करणको विजेता जिल्ला फुटबल संघ कास्की ११ र नेपाल प्रहरी गण्डकी प्रदेश प्रतिस्पर्धा गरेका थिए।

उक्त खेल निर्धारित समय दुवै टोली एक एक गोलको बराबरी खेल्दा पेनाल्टी सुटआउट मार्फत अन्तिम निर्णय निकालिएको हो। पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा कास्की ११ का लागि मनिष थापा मगरले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर उक्त अग्रतालाई कास्की ११ले धेरै समय टिकाउन सकेन। पहिलो हाफमा थप गरिएको अतिरिक्त दुई मिनेट समयको अन्तिम अवस्थामा गण्डकी प्रहरीका लागि सुशील लामाले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए।

त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट गोल गर्ने धेरै अवसरहरू प्राप्त भएतापनि थप गोल गर्न नसक्दा उक्त खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा नेपाल प्रहरी गण्डकीले कुल पॉच प्रहार गर्दा सम्पूर्ण प्रहारलाई गोल गर्न सफल भएको थियो। कास्की ११ को तर्फबाट बिनय तामाङले पहिलो प्रहार गर्दा नेपाल प्रहरी गण्डकीका गोलरक्षक जिवन सिं ठकुरीले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई अग्रतामा लगेका थिए। त्यसपश्चात भने नेपाल प्रहरीले सम्पूर्ण प्रहरीलाई गोल गरेपश्चात कास्की ११ले अन्तिम पेनाल्टी प्रहार गर्ने मौका नै प्राप्त गरेन। समग्रमा कास्की ११ लाई तिनका विरुद्ध ५ गोलले पराजित गर्दै नेपाल प्रहरी गण्डकी सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलमा नेपाल प्रहरी गण्डकीका सुशील लामा नायक बन्दै नगद रु ५००० सहित ट्रफी प्राप्त गरेका छन्।

शनिबार आयोजक आदर्श युवा क्लब र होराइजन क्लब वालिङ स्याङ्जा दिनको ठिक १२:३० बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments