बुइपा । आयोजक बुइपा–११ स्पोर्टस क्लब र खरम्बु स्पोर्टस क्लब यहाँ जारी प्रभुराम राई आमन्त्रित कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटरफाइनल खेल अन्तर्गत दिनको पहिलो खेलमा बुइपा–११ ले मानेभञ्ज्याङ फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । बुइपाको जितमा म्यान अफ दि म्याच समेत घोषित डिकेन राईले एक मात्र निर्णायक गोल गरे ।
शुक्रबार नै भएको अर्को क्वाटरफाइनलमा खरम्बुले केपिलासगढी गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा खरम्बुका सन्दिप भट्टराई म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ १० गते शनिबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा बुइपा–११ स्पोर्टस क्लब र नेर्पा स्पोर्टस क्लब भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा गछिया युवा समाज र खरम्बु स्पोर्टस क्लब भिड्ने आयोजकले जानकारी दियो ।
बुइपा–११ स्पोर्टस क्लब, खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ११ गतेका दिन हुनेछ ।