News मुर्गियाको जितमा अरुणको दुई गोल
सुरज राना मगर

सैनामैना । सहज जित निकाल्दै मुर्गिया एफसी रुपन्देहीमा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलतर्फ मुर्गियाले नव कञ्चन एफसीलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गर्यो ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको २६औं मिनटमा बिनय क्षेत्रीको गोलबाट मुर्गियाले खेलमा अग्रता लिएको थियो । त्यस्तै थप दुई गोल भने लगातार ४९ र ५९औं मिनटमा अरुण चौधरीले गरे । उता पराजित नव कञ्चनका लागि ६६औं मिनटमा असमन पुनले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच मुर्गिया एफसीका दुई गोलकर्ता अरुण चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल फोर ब्रदर्श, नवलपरासी र फुलबारी गाईज, बुटवलबीच हुने आयोजकले जनाएको छ ।

सैनामैना नगरपालिको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

 

Post Comments