News आर्मीको चुनौति कायमै, बिराटनगरसँग पुलिसको बदला
गोलनेपाल

काठमाडौं । दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले जारी राष्ट्रिय महिला लिगमा मंगलबार आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले वालिङ नगरपालिका, स्याङ्जालाई २–० ले हरायो र लिग उपाधि होडमा आफ्नो चुनौतिलाई कायम राख्यो ।

आर्मीको जितमा शर्मिला थापाले खेलको शुरुवात मै पहिलो गोल गरिन् । त्यस्तै दोस्रो गोल भने वालिङकी पुष्पा गुरुङले ४२औं मिनटमा आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।

यो जितसँगै आर्मी लिगतालिकाको दोस्रो स्थानमा छ र लिगलिडर एपिएफसँगको दुरी २ अंकमा छोट्याएको छ । उता वालिङ भने तेस्रो स्थानमा छ ।

बिराटनगरसँग पुलिसको बदला

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले बिराटनगर महानगरपालिका, मोरङसँग पहिलो लेगमा बेहोरेको हारको बदला समेत लिएको छ । पुलिसले बिराटनगरमाथि ३–० को जित निकाल्यो ।

खेलमा पुलिसले ४१औं मिनटमा निर्मला उपाध्यायको गोलबाट खेलमा अग्रता लिएको थियो । ५७औं मिनटमा निरु थापाले दोस्रो गोल थपिन भने त्यसको तीन मिनट लगतै तेस्रो गोल पनि निरुले नै गर्दै पुलिसको सहज जित पक्का गरिन् ।

यो जितसँगै ११ अंक बटुल्न सफल पुलिस लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता यो हारसँगै बिराटनगर भने पाँचौं स्थानमा खस्किएको छ ।

प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको एक मात्र खेल लिगलिडर एपिएफ क्लब र चन्द्रपुर नगरपालिका, रौतहटबीच हुने एन्फाले जनाएको छ ।

Post Comments