News योङ स्टार सञ्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । योङ स्टार एफसी रुपन्देहीमा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । स्मरण रहोस, डिएमसी, आयोजक सञ्जिवनी युवा क्लब र रेसुङ्गा एफसी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा योङ स्टारले लिस्नु युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको पहिलो हाफतर्फ सातौं मिनटमा आशिष गुरुङको पेनाल्टी गोलबाट योङ स्टारले खेलमा अग्रता बनाएको थियो ।

लिस्नुका खेलाडीले योङ स्टारका खेलाडी विरुद्ध बक्स भित्रै फल गरेपछि योङ स्टारले सो पेनाल्टीको अवसर पाएको थियो । जसलाई गुरुङले सहजै गोलमा परिणत गरेका थिए । यद्यपि दोस्रो हाफको अन्तिमतिर लिस्नुका लागि शिव बोटेले बक्स भित्र खेलाडीहरु घुलमुल भएको अवस्थामा सटिक गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर पेनाल्टी शुटआउटमा भने लिस्नुका दुई खेलाडीले बललाई पोष्टको जाली चुमाउन नसक्दा योङ स्टारले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच भने पराजित लिस्नु युवा क्लबका निशान न्यौपाने घोषित भए ।

सेमिफाइनल समिकरण पनि पूरा

मंगलबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । मंगलबार जित हात पारेको योङ स्टारले दोस्रो सेमिफाइनलतर्फ माघ २९ गते आयोजक सञ्जिवनी युवा क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबारको पहिलो सेमिफाइनल खेल डिएमसी तुल्सीपुर र रेसुङ्गा एफसीबीच हुने खेल संयोजक खिम थापाले बताए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन १ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन केसीले बताए ।

Post Comments