निजगढ । कठिन जित निकाल्दै आयोजक योङ स्टार युनाइटेड क्लब, निजगढ, घरेलु मैदान मै जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ आयोजक योङ स्टारले निजगढ सिटी क्लब, बारालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
बुद्ध चोक मिनी रंगशालामा भएको निर्धारित समयको खेलतर्फ आयोजक योङ स्टारका लागि अभिषेक लामाले गोल गरेका थिए भने निजगढ सिटीका लागि दिवस श्रेष्ठले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा आयोजक योङ स्टारले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा योङ स्टारका गोलरक्षक गोपी बर्तौला म्यान अफ दि म्याच चुनिए ।
अब योङ स्टारले यही माघ १७ गते शनिबार हुने फाइनलमा युनाइटेड युवा क्लब, बर्दिबास, महोत्तरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

