News सुनवललाई टाईब्रेकरमा सफलता
सुरज राना मगर

खैरेनी । टाईब्रेकरमा जित हात पार्दै सुनवल युथ क्लब जारी दोस्रो देवदह कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा सुनवलले बारागढी युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि देवदह खैरेनी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सुनवलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको म्यान अफ द म्याच पराजित बारागढीका अनिष चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २९ गते बिहीबारको खेल केरवानी स्र्पोटिङ क्लब र आयोजक डि युनिटी युवा क्लब (रातो) बीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।

डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुने समेत खेल संयोजक घलेले बताए ।

Post Comments