News पूर्व विजेता डिएमसी फाइनलमा
सुरज राना मगर

बुटवल । पूर्व विजेता डिएमसी, तुल्सीपुर रुपन्देहीमा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको प्रथम संस्करणको उपाधि विजेता समेत रहेको डिएमसीले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा रेसुङ्गा एफसीलाई १–० को झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफतर्फ सातौं मिनटमा बक्स एरिया भित्रबाट अनुप गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ द म्याच भने पराजित रेसुङ्गाका जितेश गुरुङ घोषित भए । डिएमसीले फाइनलमा अब बिहीबार हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक सञ्जिवनी युवा क्लब र योङ स्टार एफसी बीचको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

सञ्जिवनी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५०) हजार प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए । फाइनल खेल फागुन १ गतेका दिन हुनेछ ।

Post Comments