News पथरी शनिश्चरेको जीतसँगै प्रथम मिक्लाजुङ अध्यक्ष कपको सेमिफाइनल समीकरण पूरा
गोलनेपाल

मिक्लाजुङ । प्रथम मिक्लाजुङ अध्यक्ष अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेलमैदानमा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा पथरी शनिश्चरे नगरपालिका, मोरङले केराबारी गाउँपालिका, मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमीफाइनल चरणमा स्थान सुरक्षित गरेको हो। उक्त खेलको आयोजना मिक्लाजुङ यूथ क्लब, मोरङ ले गरेको थियो। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

खेलको सुरुवातमै आक्रामक देखिएको पथरी शनिश्चरे नगरपालिकाले खेलको २औँ मिनेटमा अनिल श्रेष्ठको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफ १–० को स्थितिमा समाप्त भएको खेलमा दोस्रो हाफमा पनि पथरी शनिश्चरेको दबाब कायम रह्यो। खेलको ५३औँ मिनेटमा अप्सन गुरुङले उत्कृष्ट गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेल पूरा समय २–० को नतिजासहित समाप्त भयो।

निर्णायक प्रदर्शन गरेका अप्सन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। यस जीतसँगै पथरी शनिश्चरे नगरपालिका सेमीफाइनलमा प्रवेश गरेको छ।

जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, विधागत सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वार्ड तथा उत्कृष्ट प्रशिक्षक लाई जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका प्रत्येक दिन म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिँदै आएको छ।

Post Comments