News आयोजक डि युनिटी (रातो) क्वाटरफाइनलमा
सुरज राना मगर

खैरेनी । आयोजक डि युनिटी युवा क्लब (रातो) जारी दोस्रो देवदह कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको प्रिक्वाटरफाइनल तर्फ डि युनिटीले केरवानी स्र्पोटिङ क्लबलाई ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खैरेनी स्थित पानबारी खेलमैदानमा सम्पन्न खेलको छैटों मिनटमा अफ्रिकी खेलाडी याहुको गोलबाट आयोजकले खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर दोस्रो हाफतर्फ ५२औं मिनटमा करन बासफोरले ेकेरवानीका लागि बराबरी गोल फर्काए । तर त्यसको दुई मिनट लगतै भिम दर्लामीले गोल गर्दै आयोजकलाई फेरि खेलमा अग्रता दिलाए ।

यद्यपि आयोजकले त्यो अग्रता पनि जोगाउन सकेन । ५६औं मिनटमा जमिर मियाँले केरवानीका लागि गोल गर्दै खेल २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । प्रतिस्पर्धात्मक खेल पेनाल्टी शुटआउटतर्फ धकेलिने सम्भावना रहेकै बेला इन्जुरी समयमा बिनय क्षेत्रीले निर्णायक गोल गर्दै आयोजकलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

खेलको म्यान अफ द म्याच आयोजक कै भिम दर्लामी घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ ३० गते शुक्रबारको खेल अभिषेक चर्च र भुमही युथ क्लबबीच हुने खेल संयोजक सन्तोष घलेले जानकारी दिए ।

डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो फागुन ८ गतेका दिन हुनेछ ।

Post Comments