News फर्साटिकर सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

सैनामैना । फर्साटिकर युवा क्लब जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले कपिलवस्तु जिल्ला फुटबल संघलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको २३औं मिनटमा फोफोनाको गोलबाट फर्साटिकरले खेलमा अग्रता बनाएको थियो । यद्यपि ४७औं मिनटमा निशान न्यौपानेले कपिलवस्तुका लागि पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

तर त्यसको एक मिनट लगतै फोफोनाले दोस्रो गोल थप्दै फर्साटिकरलाई खेलमा फेरि अग्रता दिलाए । त्यस्तै रुपक लामाले ७४औं मिनटमा फर्साटिकरका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच फर्साटिकरका रुपक लामा नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ ३० गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल भैरव एफसी, नवलपरासी र विश्व शान्ती युवा क्लब, सालझण्डीबीच हुने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ क्लबको आयोजना र सैनामैना नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताउ । फाइनल खेल भने फागुन ५ गतेका दिन हुनेछ ।

Post Comments