मोरङ । प्रथम मिक्लाजुङ अध्यक्ष अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत माघ २५ गते सम्पन्न फाइनल खेलमा कानेपोखरी गाउँपालिकाले उर्लाबारी नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेलमैदानमा सम्पन्न फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो।
पहिलो हाफको २६औँ मिनेटमा राम थापाले गोल गर्दै उर्लाबारी नगरपालिकालाई अग्रता दिलाए। तर ३३औँ मिनेटमा निश्चल खड्काले गोल गर्दै कानेपोखरीलाई बराबरीमा फर्काए। त्यसपछि ३६औँ मिनेटमा समीर तामाङबाट भएको आत्मघाती गोलले कानेपोखरी गाउँपालिका पहिलो हाफमै २–१ ले अघि बढ्यो।
दोस्रो हाफ सुरु भएको केही समयमै ४५औँ मिनेटमा निश्चल खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै कानेपोखरीको अग्रता ३–१ पुर्याए। उर्लाबारीले खेलमा फर्कने प्रयासस्वरूप ५५औँ मिनेटमा रुद्रबहादुर कार्कीमार्फत एक गोल थपे पनि त्यसपछि थप गोल हुन सकेन। निर्धारित समय सकिँदा कानेपोखरी गाउँपालिका ३–२ ले विजयी बन्यो।
उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका कानेपोखरीका निश्चल खड्का ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताको समग्र प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडी कानेपोखरीका विराज लिम्बू घोषित भए भने सर्वाधिक गोलकर्ता अभी लिम्बू (३ गोल, कानेपोखरी), उत्कृष्ट गोलरक्षक विशाल बस्नेत (कानेपोखरी), उत्कृष्ट डिफेन्डर अभिषेक बम्जन (कानेपोखरी) घोषित भए।
त्यस्तै उत्कृष्ट मिडफिल्डर उर्लाबारी नगरपालिकाका राम थापा र उत्कृष्ट फर्वाड कृषल थापा घोषित भए।
उत्कृष्ट प्रशिक्षक कानेपोखरीका डेनी राई चुनिए ।
मिक्लाजुङ यूथ क्लब, मिक्लाजुङ गाउँपालिका–४, मोरङको आयोजनामा माघ १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कानेपोखरी गाउँपालिकाले उपाधिसहित नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता उर्लाबारी नगरपालिकाले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
अन्तरपालिका स्तरको यस प्रतियोगिताले स्थानीय तहबीच खेलकुदीय सद्भाव, प्रतिस्पर्धा र फुटबल प्रतिभाको पहिचानमा उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा