काठमाडौं । राष्ट्रिय महिला लिगमा हालसम्म अपराजित र शतप्रतिशत जित निकालेको सशस्त्र प्रहरीको एपिएफ क्लब लिग उपाधि नजिक पुगेको छ । लिगमा नवौं जित दर्ता गर्ने क्रममा एपिएफले वालिङ नगरपालिका, स्याङ्जा माथि ६–० को फराकिलो जित निकाल्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफका लागि सातौं मिनटमा साबित्रा भण्डारीले पहिलो गोल गरिन् । १६औं मिनटमा साबित्राले नै त्यो अग्रता दोब्बर पारिन् भने लगतै २०औं मिनटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा प्रिती राईले एपिएफको अग्रता ४–० को स्थितिमा पुर्याईन ।
खेलमा एकपक्षी जित निकालेको एपिएफका लागि ६४औं मिनटमा साबित्राले नै व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचों गोल गरिन् भने इन्जुरी समयमा साबित्राले नै व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैंटौ गोल गर्दै एपिएफको शानदार जित सुनिश्चित गरिन् । प्लेयर अफ द म्याच एपिएफ कै गीता राना घोषित भईन् ।
यो जितसँगै ९ खेलबाट २७ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानको आर्मी भन्दा ५ अंकले अगाडी समेत छ । उता पराजित वालिङ भने १० खेलबाट १४ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ ।
बिराटनगरसँग चौदण्डीगढी पराजित
त्यस्तै शनिबार नै भएको अर्को खेलमा बिराटनगर महानगरपालिका, मोरङले चौदण्डीगढी नगरपालिका, उदयपुर माथि २–१ को जित निकाल्यो । बिराटनगरको जितमा दुवै गोल पार्वती घलेको नाममा रह्यो । उता चौदण्डीगढीका लागि मनिता तामाङले गरेकी थिईन् ।
यो जितसँगै १० खेलबाट १३ अंक जोडेको बिराटनगर लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित चौदण्डीगढी भने अंकविहीन रुपमा पुछार मै छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न