News सडन डेथको जितसँगै झापा सेमिफाइनलमा
गोलनेपाल

बिराटचोक । पूर्वाञ्चल एपिएफलाई सडन डेथमा हराउँदै झापा फुटबल क्लब जारी प्रथम प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुन्दरहरैचा–९ मोरङ स्थित इन्द्रपुर रंगशालामा सम्पन्न दोस्रो क्वाटरफाइनलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको २६औं मिनटमा मौसम सुब्बाको गोलबाट शुरुवात अग्रता बनाएको झापाले त्यसलाई जोगाउन सकेन ।

उता दोस्रो हाफतर्फ ५४औं मिनटमा उज्ज्वल राईले पूर्वाञ्चल एपिएफका लागि बराबरी गोल फर्काएका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो गर्नुपरेको थियो ।

टाईब्रेकरबाट पनि नतिजा ननिस्किएपछि खेल सडन डेथमा जाँदा झापाले नतिजा ६–५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पेनाल्टी शुटआउटमा झापाका लागि श्याम मुर्मु, अभिषेक गुरुङ, सरोज कार्की, संजिव राई, संजय गुरुङ र रोमन भुजेलले गोल गरे भने प्रमोद चौधरी र संजिव बुढाथोकीले बल बाहिर खेर फालेका थिए । मौसम सुब्बाको प्रहार भने विपक्षी गोलरक्षकले जोगाएका थिए ।

उता पूर्वाञ्चल एपिएफका तर्फबाट उज्ज्वल राई, सन्तोष कटुवाल, नविन चौधरी, गोविन्द बस्नेत र सबिन थापाले गोल गरे भने हरि कार्की, योगेश मगर र सुजन चौधरीको प्रहार झापाका गोलरक्षक संजय गुरुङले जोगाएका थिए । झापाका गोलरक्षक गुरुङ नै खेलको म्यान अफ द म्याच समेत घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत फागुन ३ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक झरना युवा क्लब र लेटाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

झरना युवा क्लब, सुन्दरहरैचा–९ बिराटचोक मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यहि फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments