News 'सुपर सब' कान्छा चम्किदा खनाल ब्रदर्शलाई उपाधि
सुरज राना मगर

सैनामैना । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कान्छा गुरुङ निर्णायक बनेपछि रुपन्देहीमा सम्पन्न तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खनाल ब्रदर्शले जितेको छ ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा बुधबार ‘फर्साटिकर डर्बी’का रुपमा भएको रोमाञ्चक फाइनल भिडन्तमा खनालले फर्साटिकर युवा क्लब माथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भयो । फर्साटिकरको जितमा दुवै गोल कान्छा गुरुङको नाममा रह्यो ।

यद्यपि खेलमा शुरुवाती अग्रता भने फर्साटिकरले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि दोस्रो हाफतर्फ ४६औं मिनटमा फोडे फोफोनाको गोलबाट फर्साटिकरले खेलमा अग्रता बनाएको थियो ।

उता वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कान्छाले ५२औं मिनटमा खनाल ब्रदर्शका लागि बराबरी गोल फर्काए भने अन्तिमतिर इन्जुरी समयमा निर्णायक दोस्रो गोल गर्दै टोलीलाई विजेता बनाउन निर्णायक भूमिका समेत खेले ।

फाइनल खेलको म्यान अफ द म्याच खनाल ब्रदर्शका दुई निर्णायक गोलकर्ता कान्छा गुरुङ नै घोषित भए । विजेता बनेको खनाल ब्रदर्शले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले १,११,१११ रुपैयाँमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक जनप्रिय स्र्पोटिङ क्लबका अध्यक्ष किशोर राना लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

जनप्रिय स्र्पोटिङ क्लब, सैनामैना–७ देवापारको आयोजना तथा सैनामैना नगरपालिकाको विशेष सहयोगमा गत माघ २४ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments