News आइ लिगमा प्रकाशको सुखद 'डेब्यु'
गोलनेपाल

काठमाडौं (एजेन्सी) । यसै सिजन चर्चित आइ लिगमा नेरोका एफसीका लागि आवद्ध भएका नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले लिगमा शुक्रबार सुखद डेब्यु गरेका छन् ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका प्रकाशले मैदानमा आफ्नो प्रभाव पनि छाड्न सफल भए । खेलमा नेरोकाले सुदेवा दिल्लीलाई २–० ले हरायो । नेरोकाको जितमा ४५औं मिनटमा जुदाह गार्सियाले पहिलो गोल गरे भने ७२औं मिनटमा संगपु सिंगसिटले दोस्रो गोल गरे ।

यो जितपछि ८ खेलबाट ८ अंक जोडेको नेरोका लिगतालिकाको दशौं स्थानमा छ । उता नवआगन्तुक टोली सुदेवा दिल्ली भने ९ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । नेरोकाले आफ्नो आगामी खेल २४ फेब्रुअरी बुधबारका दिन लिगलिडर चर्चिल ब्रदर्शसँग खेल्नेछ ।

स्मरण रहोस, आइ लिगमा यस सिजन तीन नेपाली खेलाडीले खेल्ने तय भइसकेको छ । गोलरक्षक किरन चेम्जोङ राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका छन् भने अभिषेक रिजाल हालै एजवाल एफसीमा आवद्ध भएका थिए ।

 

Post Comments