शुक्रबारे, मोरङ । चौथो सुन्दरहरेँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकालाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
शुक्रबारे सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा सम्पन्न खेलमा केराबारीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको हो।
खेलको दोस्रो मिनेटमै बेलबारी नगरपालिकाले पेनाल्टीको अवसर पाएको थियो। निमा तामाङलाई केराबारीका सुजन रोसाइलीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्री विक्रम कार्कीले पेनाल्टी दिएका थिए। तर बेलबारीका कप्तान विवेक पौडेलको प्रहार क्रसबारमा लागेर फर्किएपछि सुरुआतमै अग्रता लिने अवसर बेलबारीले गुमायो।
पहिलो हाफमा केराबारीका सुजन बलम्पाकी मगरले वान-भर्सेस-वानको अवस्थामा गोल गर्ने राम्रो अवसर पाए पनि बेलबारीका गोलरक्षक मुस्कान लिम्बुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ३२औँ मिनेटमा सुजन मगरको पासमा राम वजिले आकर्षक फिनिस गर्दै केराबारीलाई १–० को अग्रता दिलाए। त्यसपछि खेल तनावपूर्ण बनेको थियो। केराबारीका डिफेन्डर सुजन रोसाइली र बेलबारीका डिफेन्डर सन्देश राईबीच सामान्य विवाद भएपछि दुवै खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए।
१०-१० खेलाडीमा सीमित बनेको अवस्थामा केराबारीले थपिएको समयमा अर्को गोल थप्यो। इन्जुरी समयको 2 औँ मिनेटमा राम वजिको प्रहार गोलरक्षक मुस्कान लिम्बूलाई नाघ्दै जाली चुमेपछि केराबारीले २–० को स्पष्ट अग्रता बनाएको थियो।
त्यसपछि थप गोल हुन नसक्दा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकामाथि २–० को जित निकाल्दै प्रतियोगिताको फाइनल यात्रा तय गर्यो।
अब दोस्रो सेमिफाइनलमा इटहरी उपमहानगरपालिका र बेलका नगरपालिका भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ।