News दोस्रो पथलैया टाउन कप: टाइब्रेकरमा वीरगन्जलाई हराउँदै आयोजक पथलैया युनाइटेडको विजयी सुरुवात
गोलनेपाल

पथलैयाः दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगितामा आयोजक पथलैया युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ । पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा युवा स्पोर्टस् क्लब वीरगन्जलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै पथलैयाले अघिल्लो यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वीरगन्जका एक खेलाडीको प्रहार पोष्टमा ठोक्किएर बाहिरिन पुगेको थियो । उत्कृष्ट बचाउ र प्रदर्शन गरेका पथलैयाका गोलरक्षक खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

पथलैया टाउन एफसीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा कुल २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा थानीमाई ढुवानी सेवा सहप्रायोजक, थानीमाई एफसी र पथलैया दिव्यज्योती क्लब सहयोगी संस्थाका रूपमा रहेका छन्। त्यस्तै भायोनेट प्रतियोगिताको इन्टरनेट पार्टनर रहेको छ।

यसअघि प्रतियोगिताको भव्य उद्घाटन नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले गरेकी थिइन्। उद्घाटन समारोहमा नेतृ शाहीका साथै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर श्रेष्ठ र पूर्वजनप्रतिनिधि रामदास धौजुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पथलैया टाउन एफसीका अध्यक्ष दीप राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सुरेश विकले गरेका थिए ।

Post Comments
Advertisement Yamaha Nepal