पुर्नवास । प्याराताल युवा क्लब, पुर्नवास–९, वीचफाँटा, कञ्चनपुरको आयोजनामा बिहीबारदेखि शुरु भएको तीज महोत्सव फुटबल प्रतियोगितामा नवोदय समाज सुधार र दुर्गा भवानीले विजयी शुरुवात गरेका छन् ।
पहिलो खेलमा नवोदयले आयोजक प्याराताल युवा क्लबलाई ५–१ को अन्तरले हराउँदै विजयी शुरुवात गर्यो । नवोदयको जितमा मनिराज खातीले ह्याट्रिक गरे भने योगेन्द्र कुँवर र लाल धामीले समान एक–एक गोल गरे । पराजित प्यारातालका लागि भने लक्ष्मण सुनारले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिककर्ता नवोदयका मनिराज खाती प्लेयर अफ द म्याच बने ।
त्यस्तै दोस्रो खेलमा दुर्गा भवानीले गोविन्द बिक स्मृतिलाई ४–० को अन्तरले पराजित गर्यो । दुर्गा भवानीको जितमा आदित्य चौधरीले ह्याट्रिक गर्दा थप एक गोल राजेश नेपालीले गरे । खेलमा ह्याट्रिककर्ता दुर्गा भवानीका आदित्य चौधरी प्लेयर अफ द म्याच बने ।
आउँदो असोज ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल २० टोलीहरु सहभागि छन् ।