News चौथो विरेन स्मृति, १४औं बि.टी कप’ सुरु
उमेश पुन

पोखरा । बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूलका नाराका साथ क्लबका सल्लाहकार स्व. विरेन गुरुङको स्मृतिमा आइतबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी निलोले नारायण गोपाल एजुकेशन एफसीलाई ५–० ले हराउँदै विजयी शुरुवात गर्यो ।

बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिक गरे भने दिपक तामाङ र आटिया तामाङले समान १–१ गोल गरे । यो जितसँगै आयोजक निलो दोस्रो चरणमा समेत प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै दोस्रो खेलमा मयुर टाईम न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । चाउथेको जीतमा कृष्ण गुरुङ र ईमोन छेत्रीले गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।

त्यसैगरी मिरुवा एफसी र फिटनेश ग्रुप बिच भएको अन्तिम खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा फिटनेश ग्रुपले ४–३ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि निर्धारित समयको खेलमा फिटनेश गु्रपका लागि कुमार गुरुङ र टिविन गुरुङले गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङ एक्लैले दुई गोल गरेका थिए ।

आउँदो फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ भने उपविजेताले ८२ हजार २ सय २२ प्राप्त गर्ने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सोमबार पहिलो चरणकै ९ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Post Comments