News मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता
गोलनेपाल

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजित प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोले बाजी मार्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । फेदाप गाउँपालिका उपविजेतामा सीमित भयो ।

यसअघि शुक्रबारका लागि तय गरिएको फाइनल खेल निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण स्थगित गरिएको थियो। स्थगित खेल शनिबार सञ्चालन गरिएको हो ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी फेदापकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतियोगिताको समापन समारोहमा प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की प्रमुख अतिथि तथा मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमी सभाध्यक्ष रहेका थिए ।

प्रतियोगिताको विजेता सातदोबाटो युथ क्लबले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फेदाप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सातदोबाटोकी कप्तान वर्षा मगर घोषित भइन् । उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सर्वाधिक गोलकर्ताको उपाधि ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबकी खेलाडी सिम्राङ गुरुङले प्राप्त गरिन् भने उत्कृष्ट गोलरक्षक सातदोबाटोकी अस्मिता नेपाली घोषित भइन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे ।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतिष्ठानका अनुसार प्रतियोगिता प्रत्येक तीन वर्षको अन्तरालमा आयोजना गरिनेछ ।

Post Comments