गाईघाट। उदयपुरको गाईघाटस्थित थरुहट उदयपुर रङ्गशालामा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अत्यन्तै प्रतिष्पर्धात्मक र रोमाञ्चक खेलमा न्यु स्टार एफसी सुनसरीले चित्लाङ एफसी काठमाडौँ विरुद्ध शानदार जित निकालेको छ। निर्धारित समयको खेल २-२ गोलको रोमाञ्चक बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा न्यु स्टारले चित्लाङलाई ४-३ को गोल अन्तरले पराजित गर्दै बाजी मारेको हो।
खेलको सुरुवाती पहिलो हाफमा चित्लाङ एफसीले पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो। चित्लाङका लागि सोलोमन किङले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा न्यु स्टार एफसी आक्रामक रूपमा मैदान उत्रियो। न्यु स्टारका सुजन चौधरीले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेल झनै रोचक बन्यो। दोस्रो हाफमै न्यु स्टारले पेनाल्टीको अवसर पायो, जसलाई निश कुमार श्रेष्ठले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै न्यु स्टारलाई २-१ को अग्रता दिलाए।
न्यु स्टारले पेनाल्टी पाउने क्रममा चित्लाङ फुटबल क्लबका कप्तान सकल रेग्मीले हातको प्रयोग गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड (रेड कार्ड) देखाउँदै मैदान बाहिर पठाएका थिए। १० खेलाडीमा समेटिएको चित्लाङले हार नजिक पुगेर पनि खेलमा अप्रत्याशित कमब्याक गर्यो। खेलको अन्तिम मिनेटमा चित्लाङका समिर लामाले प्रहार गरेको उत्कृष्ट कर्नर किक सिधै गोल (डाइरेक्ट गोल) मा परिणत भएपछि खेल २-२ को सनसनीपूर्ण बराबरीमा टुङ्गियो र खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरियो।
पेनाल्टी सुटआउटमा न्यु स्टारका गोलकिपर सन्देश चौधरी टोलीका लागि संकटमोचक बने। चित्लाङका दुईवटा सशक्त प्रहारलाई निकै उत्कृष्ट तरिकाले बचाउ (सेभ) गर्दै उनले न्यु स्टारलाई ४-३ को जित दिलाए। खेलमा नायक बनेका गोलकिपर सन्देश चौधरी नै आजको खेलको 'म्यान अफ द म्याच' घोषित भए।
आजको खेलमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभाका उपसभामुख माननीय सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, गाईघाट फुटबल क्लब तथा उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रन्जन कार्की लगायत अन्य स्थानीय खेलकुदप्रेमी एवं विशिष्ट अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो।