News सोरौली एफसी क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । गणदिप थापाले निर्णायक गोल गरेपछि सोरौली एफसी जारी दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न प्रतिस्पर्धात्मक प्रिक्वाटरफाइनल खेलतर्फ सोरौलीले आयोजक न्यु इरा युथ क्लब माथि ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा भएको खेलको तेस्रो मिनटमै अभिषेक बुढाले सोरौलीका लागि पहिलो गोल गरे । यद्यपि आयोजकका लागि १३औं मिनटमा सुजन दगामीले बराबरी गोल फर्काए ।

त्यस्तै १७औं मिनटमा कृष्ण कनौजेले आयोजकका लागि दोस्रो गोल गर्दा घरेलु टोली थप हौसिएको थियो । तर २८औं मिनटमा सोरौलीका लागि बिजय थापाले दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछिको खेल बराबरीतर्फ नै लम्किरहेका बेला गणदिप थापाले सोरौलीका लागि अन्तिमतिर इन्जुरी समयमा तेस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्याउन सफल भए । निर्णायक गोलकर्ता सोरौलीका गणदिप थापा म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन १८ गते मंगलबार दुई क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक सुनिल शाहीले बताए । पहिलो क्वाटरफाइनल खेल राधाकृष्ण एफसी र बुद्धभूमि फुटबल एकेडेमीबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल राइजिङ–११ र आदर्श युथ क्लबबीच हुनेछ ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यहि फागुन २५ गतेका दिन हुनेछ ।

 

Post Comments