News दुहबीमा एन्फा टेक्निकल सेन्टर बन्ने
गोलनेपाल

दुहबी । फुटबलमा व्यस्त रहने प्रदेश नम्बर १ को सुनसरी स्थित दुहबी नगरपालिका वार्ड नम्बर ७ मा एन्फा टेक्निकल सेन्टर बन्ने भएको छ । त्यसका लागि सोमबार दुहबी नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता कार्यक्रम समेत सम्पन्न भयो ।

दुहबी स्थित नगरपालिकाको सभाहलमा सम्पन्न सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिकाको तर्फबाट मेयर वेद नारायण गच्छदारले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार दुहबी नगरपालिकाको वार्ड नम्बर ७ मा टेक्निकल सेन्टर बन्नेछ । त्यसका लागि नगरपालिकाले ६ बिघा जग्गा समेत उपलब्ध गराएको छ ।

साथै टेक्निकल सेन्टर निर्माणका लागि दुवैपक्षबाट आर्थिक लगानी हुने समेत बताइएको छ । सम्झौता कार्यक्रमपछि दुहबीका मेयर गच्छदारले यो सम्झौताले दुहबी मात्र नभएर प्रदेश नम्बर १ कै फुटबल खेलले थप महत्व पाउने चर्चा गरे । साथै टेक्निकल सेन्टर निर्माण भएपछि त्यसले राम्रा खेलाडीहरु उत्पादनमा पनि टेवा पुग्ने औंल्याए ।

उता एन्फाका केन्द्रिय अध्यक्ष शेर्पाले आफूहरु देशको फुटबल विकासमा निरन्तर प्रयासरत रहेको बताए । साथै दुहबीमा बन्ने टेक्निकल सेन्टरले देशमा फुटबलमा लाग्न चाहनेहरुका लागि थप नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा दुहबी नगरपालिकाका उपमेयर सुनिता दाहाल साह, एन्फाका केन्द्रिय कार्यसमिति सदस्य दिपक राई, दुहबी नगरपालिकाका १२ वटै वर्डाका अध्यक्षहरु र नगरभित्रका विभिन्न क्लबहरुको प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments