News सेकाहा एफसी सङ्खुवासभा गोल्डकपको फाइनलमा प्रवेश
गोलनेपाल

संखुवासभाको खाँदबारीमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सेकाहा सामुदायिक क्लब प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

खाँदबारी स्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै १७औं मिनेटमा सविन राईले गोल थप्दै सेकाहाको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेको लोहरुङ क्लब पांमाले खेलमा फर्किने प्रयास गरे पनि ७७औं मिनेटमा मिलन राईले एक गोल फर्काए। तर, खेलको ८०औं मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेकाहाको जित सुनिश्चित गरे।

खेलको अन्तिम समयमा लोहरुङ क्लबका गोलरक्षक प्रमिज गच्छदारले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट निष्कासन गरेका थिए ।

जितसँगै सेकाहा सामुदायिक क्लबले उपाधिका लागि सुनसरीको न्यू स्टार क्लबसँगको भेट पक्का गरेको छ।

खेलको प्लेयर अफ दि म्याच सेकाहाका बिनोद राइ घोषित भए । उनले नगद पॉच हजार प्राप्त गरे ।

शुक्रबार दिउँसो हुने फाइनल खेलमा दुवै टोली उपाधिका लागि भिड्नेछन्।

गोल्डकपको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रूपैया प्राप्त गर्नेछ ।

Post Comments