News बेनीमा चौँथो बौद्ध कपको दोस्रो दिन पाँच खेल सम्पन्न
गोलनेपाल

म्याग्दी चौँथो बौद्ध कप–२०८३ अन्तर्गत दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन्। म्याग्दीको खुल्ला मञ्चमा जारी प्रतियोगितामा एभरग्रीन एफसी बेनी, द मुनसुन एफसी, कालीपुल युनाइटेड, रिभरसाइड एफसी र आयोजक बौद्ध युवा क्लब निलोले जित दर्ता गरेका छन्।

दिनको पहिलो खेलमा एभरग्रीन एफसी बेनीले बागलुङ युनिटी बागलुङलाई २–० गोलले पराजित गर्‍यो। एभरग्रीनका लागि योगेश पुन र पवन खत्रीले गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका निराजन खत्री प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा द मुनसुन एफसीले म्याग्दी प्रहरीलाई २–१ गोलले हरायो। मुनसुनका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका प्रज्वल बानियाँ र सञ्जय राजबहाकले गोल गरे। सञ्जयले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। म्याग्दी प्रहरीका माने क्षेत्रीले एक गोल फर्काए। मुनसुनका दीपेन राई प्लेयर अफ द म्याच घोषित भए।

तेस्रो खेलमा कालीपुल युनाइटेडले मालिका एफसी जुग्जालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। कालीपुलका कप्तान बिनम थजालीले चार गोल गर्दै शानदार प्रदर्शन गरे। त्यस्तै साजन थापा मगरले एक गोल गरे भने विपक्षी खेलाडी दिप्सन परियारबाट एक आत्मघाती गोल भएको थियो। चार गोल गरेका कप्तान थजाली प्लेयर अफ द म्याच घोषित भए।

चौथो खेलमा आयोजक बौद्ध युवा क्लब ओरेन्जलाई रिभरसाइड एफसी बगरफाँटले ३–० गोलले पराजित गर्‍यो। रिभरसाइडका लागि सुनील थापाले दुई तथा दीपेन घर्तीले एक गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका रिभरसाइडका अमित बुढामगर प्लेयर अफ द म्याच घोषित भए।

दिनको पाँचौँ तथा अन्तिम खेलमा आयोजक बौद्ध युवा क्लब निलोले अर्थुङ्गे युनाइटेड बेनीलाई ४–२ गोलले पराजित गर्‍यो। आयोजकका लागि विनय तामाङले दुई तथा सन्दीप तामाङले एक गोल गरे भने अमन थापाबाट एक आत्मघाती गोल भएको थियो। अर्थुङ्गेका लागि निर्मल खत्री र निशान कार्कीले गोल गरे। दुई गोल गरेका विनय तामाङ प्लेयर अफ द म्याच घोषित भए।

बौद्ध युवा क्लब म्याग्दीको आयोजनामा कात्तिक १८ देखि २२ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टोलीले रु. २ लाख २२ हजार २२२, दोस्रो हुनेले रु. १ लाख ११ हजार १११ र तेस्रो हुने टोलीले रु. ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी अनुशासित टोलीले रु. २२ हजार २२२ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरले जनही रु. ७ हजार ७७७ सहित ट्रफी प्राप्त गर्नेछन्।

Post Comments