News श्री भगवतीलाई दोस्रो जितको स्वाद
सुरज राना मगर

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ श्री भगवती क्लबले बिहीबार दोस्रो जितकोस्वाद चाख्न सफल भएकोछ । श्री भगवतीले दोस्रो जित हात पार्ने क्रममा झम्सीखेल युथ क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पार्यो ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ११औं मिनटमा झम्सीखेलका सुनिल शाहीले आत्मघाती गोल गर्दा श्री भगवतीले खेलमा शुरुवाती अग्रता बनाउन सफल भएको थियो । यद्यपि ३२औं मिनटमा झम्सीखेलका लागि मदन स्याङतनले बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५७औं मिनटमा नवराज गुरुङले श्री भगवतीका लागि दोस्रो गोल गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाएका थिए । तर ७४औं मिनटमा अनिष चौधरीले झम्सीखेलका लागि गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याएका थिए ।

तर खेल सकिन केही मिनट बाँकी छँदा मोहन बहादुर थापाले श्री भगवतीका लागि तेस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै ९ खेलबाट ९ अंक जोडेको श्री भगवती लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित झम्सीखेल भने ६ अंकका साथ ११औं स्थानमा छ ।

आरसिटी र श्री कुमारीको बराबरी

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको तेस्रो मिनटमै अजित गुरुङको गोलबाट अग्रता बनाएको आरसिटीले त्यसलाई जोगाउन सकेन । उता श्री कुमारीका लागि २२औं मिनटमा युवराज राईले बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि ९ खेलबाट १३ अंक जोडेको आरसिटी लिगतालिकाको पाँचौं स्थानमा छ । उता श्री कुमारी भने ८ अंकका साथ लिगतालिकाको नवौं स्थानमा रहेको छ ।

Post Comments