News विश्वासको निर्णायक गोलसँगै नव प्रतिभा फाइनलमा
सुरज राना मगर

बुटवल । विश्वास श्रेष्ठ निर्णायक बन्दा नव प्रतिभा युवा क्लब रुपन्देहीमा जारी दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा नव प्रतिभाले सिमानगर एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नव प्रतिभाका लागि विश्वास श्रेष्ठले दोस्रो हाफतर्फ सातौं मिनटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच पराजित सिमानगरका कप्तान तथा गोलरक्षक सागर कार्की घोषित भए । नव प्रतिभाले अब फाइनलमा उपाधिका लागि फागुन २५ गते मंगलबारका दिन राइजिङ–११ को सामना गर्नेछ ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुनिल शाहीले बताए ।

Post Comments