News सातदोबाटोको पहिलो हार
गोलनेपाल

काठमाडौं । केही दिन अघि मात्र ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले जारी शहिद स्मारक बी डिभिजन लिगतर्फ पहिलो हार बेहोरेको छ ।

सोमबार पहिलो हार बेहोर्ने क्रममा सातदोबाटोले मध्युपुर युथ एसोसिएशनलाई १–२ ले नतिजा सुम्पिन बाध्य भयो । एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २९औं मिनटमा कैलाश लामिछाने खत्रीको गोलबाट मध्यपुरले खेलमा अग्रता बनाएको थियो ।

तर दोस्रो हाफतर्फ ५०औं मिनटमा माल्दिना आङथुपोले सातदोबाटोका लागि बराबरी गोल फर्काए । यद्यपि सातदोबाटोले त्यो बराबरी नतिजालाई निरन्तरता दिन सकेन । ५८औं मिनटमा सन्नी लामाले मध्यपुरका लागि निर्णायक गोल गर्दा सातदोबाटोले लिगमा पहिलो हार बेहोर्न बाध्य बनेको थियो ।

यो नतिजाका बावजुद १० खेलबाट २५ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा यथावत छ । उता जित निकालेको मध्यपुर भने १३ अंकका साथ छैटौं स्थानमा छ ।

पुल्चोकको पहिलो जित

त्यस्तै सोमबार नै भएको अर्को खेलमा पुल्चोक स्पोर्टस क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) माथि २–१ को जित निकाल्यो । पुल्चोकको जितमा अर्जुन कुमार राना र किस्मत लिम्बुले गोल गरे । उता पराजित आरसिटीका लागि अमर डंंगोलले गोल फर्काएका थिए ।

यो नतिजापछि लिगमा पहिलो जित दर्ता गरेको पुल्चोक ५ अंकका साथ पुछार मै छ । उता पराजित आरसिटी भने १३ अंकका साथ लिगतालिकाको पाँचों स्थानमा छ ।

 

Post Comments