News थी नेशन्स कपको तयारी पूरा
गोलनेपाल

काठमाडौं । यहि चैत १० देखि १६ गतेसम्म काठमाडौं आयोजना हुन गईरहेको थ्री नेशन्स कपको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि एन्फाले प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीले सहभागिता जनाउने छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको टिकट मुल्य र बिक्रीबारे पनि जानकारी गराइयो । एन्फाका प्रवक्ता किरन राईका अनुसार सुरक्षा नीतिलाई ध्यानमा राख्दै यसपटक केवल १२ हजार टिकट मात्र बिक्री गरिने बताए ।

स्मरण रहोस, दशरथ रंगशालाको दर्शक क्षमता भने १५ हजार रहेको बताइएको छ । त्यस्तै प्रवक्ता राईले जनरलतर्फ टिकट मुल्य ७०० तथा स्ट्याण्डर्डतर्फ १५०० तोकिएको पनि जानकारी दिए ।

तीन देशबीचको भिडन्त

प्रतियोगिताको उद्घाटन खेलमा चैत १० गतेका दिन बंगलादेश र किर्गिस्तान भिड्ने छन् । त्यस्तै चैत १२ गतेका दिन नेपाल र किर्गिस्तान भिड्ने छन् भने चैत १४ गतेका दिन नेपाल र बंगलादेशले खेल्ने छन् ।

लिग चरणको खेलहरु पश्चात् शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छने । फाइनल खेल भने चैत १६ गतेका दिन हुनेछ । खेलहरु सबै दशरथ रंगशालामा हुनेछन् भने खेल शुरु हुने समय ५ः३० तोकिएको एन्फाले जनाएको छ ।

बंगलादेशी टोली नेपालमा

यसैबीच प्रतियोगितामा सहभागिता जनाउनका लागि बंगलादेशको फुटबल टोली बिहीबार नेपाल आइपुगेको छ । साथै किर्गिस्तानको टोली भने आइतबारसम्म आइपुग्ने बताइएको छ ।

अनुमानित खर्च १ करोड

एन्फाले प्रतियोगिता आयोजनाका लागि अनुमानित खर्च १ करोड रहेको बताएको छ । त्यसबाट ५० लाख आम्दानी गर्ने समेत एन्फाले लक्ष्य लिएको छ ।

त्यसका साथै एन्फाले पाहुना टोलीहरु सोल्टी क्राउन प्लाजा होटलमा बस्ने समेत जानकारी दियो ।

Post Comments