News बंगलादेशका प्रशिक्षक भन्छन् “नेपाल दावेदार”
गोलनेपाल

काठमाडौं । थ्र्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डे ले नेपाललाई उपाधिको बलियो प्रत्याशी बताएका छन् ।

सोमबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डे भन्छन्, "आयोजक राष्ट्र भएकाले पनि नेपाल उपाधिको बलियो प्रत्याशी हो । हामी हाम्रो प्रदर्शनलाई सुधार्न चाहन्छौं । हाम्रो पहिलो प्राथमिकता नै प्रदर्शनमा सुधार गर्नु हो ।"

उता किर्गिस्तान ओलम्पिक टोलीका प्रशिक्षक झोल्डोसोव नुर्वेकले प्रतियोगिता आफ्नो टोलीका लागि सिक्न र अनुभव बटुल्नका लागि उपयुक्त रहेको बताएका छन् । नुर्वेकले आफूहरुले सोंचेजस्तो तयारी गर्न नसके तापनि बंगलादेश र नेपाल विरुद्ध राम्रो प्रदर्शन गर्ने बताए ।

स्मरण रहोस, प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेश र किर्गिस्तान भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेल चैत्र १२ गते किर्गिस्तानसँग खेल्नेछ । त्यस्तै १४ गतेका दिन बंगलादेशसँग खेल्नेछ । लिग चरणको खेलपश्चात् शिर्ष दुई टोली चैत्र १६ गते फाइनलमा भिड्ने छन् ।

प्रतियोगिताको सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । सबै खेल शुरु हुने समय बेलुकाको ५ः३० बजे तोकिएको एन्फाले जनाएको छ ।

Post Comments