News शानदार जितका साथ झरना सेमिफाइनलमा
गोलनेपाल

उपाधिको दावेदार मध्ये एक मानिएको झरना स्पोर्टस् क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा झरनाले अर्को बलियो टोली नव टिकुलीगढ एफसीलाई ४–१ ले हरायो ।

झरनाको जितमा सुरज आलेले ११औं मिनटमा गोलको खाता खोलेका थिए । लगतै २१औं मिनटमा सेठ परियारले त्यो अग्रता दोब्बर पारे । उता ३१औं मिनटमा नव टिकुलीगढका लागि कप्तान एमोस पुनले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, नव टिकुलीगढको त्यो प्रयास सफल भएन । ५१औं मिनटमा झरनाका लागि निशान सुनारले तेस्रो गोल गरे भने लगतै ५४औं मिनटमा सुर्य थापाले चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा झरना स्पोर्टस्का शंकर राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल अर्को दावेदार टोली फर्साटिकर युवा क्लब र लिस्नु युवा क्लबबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments