News आयोजक विरुद्ध बिर्तामोडको फराकिलो जित
गोलनेपाल

झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजकमाथि बिर्तामोड युनाइटेड एफसीले फराकिलो जित हात पारेको छ ।

शनिबार स्थानीय दीपज्योति खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनलमा बिर्तामोडाले आयोजक कप्तानबारी युवा क्लबलाई ८–१ को फराकिलो अन्तरले हरायो । यो जितसँगै बिर्तामोड सेमिफाइनलमा समेत प्रवेश गर्यो ।

बिर्तामोड युनाइटेडका लागि आशिष चापागाईले ह्याट्रिकसँगै ५ गोल गरे । उनले खेलको २, २० र २१औं मिनटमा ह्याट्रिक पूरा गरेका थिए भने २४औँ र ३९औँ मिनेटमा थप दुई गोल गर्न सफल भएका थिए ।

त्यस्तै, बिर्तामोडकै नरेन लिम्बूले २९ र ४५औँ मिनेटमा र समिर गुरुङले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए । उता आयोजकका लागि भने सञ्जोग दनुवारले खेलको ३८औँ मिनेटमा एक मात्र सान्त्वना गोल गरे ।

खेलको म्यान अफ द म्याच विजेता बिर्तामोड युनाइटेडका आशिष चापागाई घोषित भए । उनलाई अर्जुनधारा वडा नम्बर १० का अध्यक्ष बलदेव गोम्देन, झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङ र नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले पुरस्कारस्वरुप नगद २ हजार पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तरगत मंसिर १५ गते आइतबारको खेल रेड स्टार क्लब र मनास्लु एफसी बीच हुनेछ । कप्तानबारी युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

Post Comments