News एपिएफ बागमती गोल्डकपको क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

बागमती । सशस्त्र प्रहरीको एपिएफ क्लब यहाँ जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रिक्वाटरफाइनल खेलतर्फ एपिएफले घरेलु टोली रिगल हेर्टाडा रिसोर्ट मकवानपुर–११ लाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

बागमती गाउँपालिकाको फापरबारी स्थित जनता माविको खेलमैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ २६औं मिनटमा प्रदिप लामाले पहिलो गोल गर्दै एपिएफलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिमतिर मान बहादुर रानाले दोस्रो गोल गर्दै एपिएफको जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपिएफका प्रदिप लामा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । एपिएफले अब क्वाटरफाइनलमा चैत्र १९ गतेका दिन थ्रीस्टार क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत चैत्र १६ गते सोमबारको खेल बिर्तामोड युनाइटेड, झापा र अफ्रीकन रुट एसोसियशन, क्यामरुन बीच हुने आयोजकले जनाएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल भने चैत्र २३ गतेका दिन हुनेछ ।

Post Comments