मकवानपुर(झुरझुरे) : काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लब लाई ५–१ गोलअन्तरले पराजित गर्दै चित्लाङले उपाधि नजिक स्थान बनाएको हो।
चित्लाङको शानदार जितमा विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले समान दुई-दुई गोल गरे भने समीर तामाङले एक गोल थपे। सोलोमनले खेलको ४३औँ र ८७औँ मिनेटमा गोल गर्दा एरोन थापाले ७८औँ र ८१औँ मिनेटमा जाली चुमाए। समीर तामाङले ७९औँ मिनेटमा गोल थपेका थिए।नवजनजागृतीका लागि बिक्रम लामाले ८३औँ मिनेटमा सान्त्वना गोल फर्काए।
खेलमा दुई गोल गरेका सोलोमन किङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए र उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
चित्लाङ एफसीले प्रतियोगितामा पहिलो सहभागितामै फाइनल यात्रा तय गरेको हो। चित्लाङले प्रि–क्वाटरफाइनलमा एपीएफ एफसी लाई हराएको थियो भने क्वाटरफाइनलमा मछिन्द्र एफसी लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
अब चित्लाङले उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लब सँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लब लाई हराउँदै बागमती युथले फाइनल यात्रा तय गरिसकेको छ।