News अफ्रिकनसँग हार्यो लिग च्याम्पियन मच्छिन्द्र
उमेश पुन

पोखरा । नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले पोखरामा जारी १९औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा हार बेहोरेको छ ।

आइतबार पोखरा रंगशालामा सम्पन्न दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनसँग २–१ को हार बेहोर्दै प्रतियोगिताबाट नकआउट भएको हो ।

खेलको ३५औं मिनटमा मौसाको गोलबाट अफ्रिकनले खेलमा अग्रता बनाएको थियो । त्यस्तै ८२औं मिनटमा एन्जिमीले अफ्रिकनका लागि दोस्रो गोल गर्दा मच्छिन्द्र निराश बन्न पुगेको थियो ।

खेलको अन्तिमतिर इन्जुरी समयमा मच्छिन्द्रका लागि अभिषेक रिजालले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच अफ्रिकनका लागि पहिलो गोल गर्ने मौसा घोषित भए ।

यो जितसँगै अफ्रिकन रुटस प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ । प्रतियोगिता अन्तरगत चैत्र २३ गतेको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीच हुनेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २८ गतेका दिन हुनेछ ।

 

Post Comments