News पञ्जाब पुलिस बिराट गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

बिराटनगर । खेलमा रोमाञ्चक पूनःरागमन गर्दै पञ्जाब पुलिस, भारत जारी छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ पञ्जाबले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई टाईब्रेकरमा ४–२ ले क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो । त्यसअघि शहिद रंगशालामा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले नाटकीय रुपमा १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ८०औं मिनटमा शक्ति राईको गोलबाट अग्रता बनाएको गोर्खा ब्वाईजले त्यसलाई अन्तिम दश मिनट जोगाउन सकेन । खेलको ९०औं मिनटमा पञ्जाबले बराबरी गोल फर्काउँदै खेललाई टाईब्रेकरतर्फ धकेल्न सफल भएको थियो । टाईब्रेकरमा भने पञ्जाब सफल पनि भयो ।

पञ्जाबले अब क्वाटरफाइनलमा चैत्र २९ गतेका दिन नेपालको लिग च्याम्पियन मच्छिन्द्र क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत चैत्र २८ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल बिराटनगर–११ र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments